एनआईसी एशिया बैंकले दुई बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको सेयरको लिलामी रोक्यो

2020-12-04
एनआईसी एशिया बैंकले दुई बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको सेयरको लिलामी रोक्यो

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले दुई जीवन बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयरको लिलामी प्रक्रिया रोकेको छ। बैंकले विशेष कारण देखाउँदै अर्काे सूचना जारी नभएसम्मका लागि सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लिलामी प्रक्रिया रोकेको हो। 

बैंकले लिलामीमा रहेका राखिएका कुल ६ लाख ६० हजार ७५० कित्ता संस्थापक सेयरमध्ये बैंकले सूर्या लाइफको १ लाख ९२ हजार ९९४ कित्ता, एसियन लाइफको १ लाख ३९ हजार ४७० कित्ता सेयरको लिलामी प्रक्रिया रोकेको हो।  

यसअघि बैंकले मंसिर १४ गतेदेखि ३ बीमा कम्पनी सहित चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा राखेको थियो। 
लिलामीमा राखिएका अन्य दुई कम्पनी नेशनल लाइफको  १ लाख २५ हजार ७२६ कित्ता र नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता संस्थापक सेयरको लिलामी प्रक्रिया भने यथावत रहेको बैंकले जनाएको छ।    

लिलामीमा राखिएका सेयरहरुमा योग्य लगानीकर्ताहरुले प्रतिकित्ता दरभाउ कबुल गरी गोप्य शिलबन्दी पेस व्यवस्था गरिएको छ। सेयर खरिदका लागि बोलकबोल गर्दा सबै कम्पनीको हकमा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। साथै कुनै एक व्यक्ति वा संस्थाले एकभन्दा बढी आवेदन छुट्टाछुट्टै दररेटमा बोलकबोल आवेदन गर्दा छुट्टाछुट्टै शिलबन्दी खाममा पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेड, एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा महेन्द्रपुल, बुटवल, धनगढी र सुर्खेतमा आज मंसिर १९ गते बैंकिङ समयसम्म पेस गर्नुपर्नेछ। 


Share this with your friends: