एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ र एशियन लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

2020-12-25
 एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ र एशियन लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामी आजदेखि खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको यी दुई कम्पनीका ३ लाख बढी संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो। 

बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९२ हजार ९९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३९ हजार ४७० कित्ता सेयर गरी कुल ३ लाख ३२ हजार ४६४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।   

बैंकले यसअघि मंसिर १४ गतेदेखि १९ गतेसम्म यी दुवै कम्पनीको संस्थापक सेयरको बिक्री बोलकबोल प्रक्रियामार्फत खुलाएको थियो। तर नेपाल धितोपत्र बोर्डको पत्र बमोजिम सेयरको बिक्री कार्य स्थगित गरी उक्त समयमा प्राप्त सम्पूर्ण आवेदनहरु रद्द गरेको थियो। अहिले उक्त सेयरहरु पुन बोलपत्र आह्वान गरी बिक्री गर्ने कार्य अगाडी बढाउन बोर्डबाट जानकारी प्राप्त भएबमोजिम यी कम्पनीहरुको संस्थापक सेयर लिलामीमा राखिएको बैंकले जनाएको छ। 

लगानीकर्ताले लिलामीमा राखिएको सेयर खरिदका लागि ६ कार्य दिन अर्थात पुस १६ गतेभित्र सूर्या लाइफको हकमा प्रति कित्ता रु.३७५ र एशियन लाइफको हकमा प्रति कित्ता रु.४६४ मा नघट्ने गरी प्रति कित्ता के कति दर भाउमा लिन कबुल गर्ने हो खुलाई आवेदन पेश गर्नु पर्नेछ। 

सेयर खरिदका लागि बोलकबोल गर्दा दुवै कम्पनीको हकमा न्युनतम १ सय कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। यसका साथै कुनै एक व्यक्ति वा संस्थाले एक भन्दा बढी आवेदन दिँदा छुट्टाछुट्टै दर रेटमा बोलकबोल आवेदन गर्दा छुट्टा छुट्टै शिलबन्दी खाममा पेश गर्नु पर्नेछ। 

शिलबन्दी पेश गर्दा आफुले लिन चाहेको सम्बन्धित कम्पनीको नाम तथा संस्थापक सेयर खरिद आवेदन उल्लेख भएको हुनु पर्नेछ। सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ।

लगानीकर्ताले काठमाण्डौ बबरमहल स्थित एनआईसी एशिया क्यापिटलको कार्यालय तथा थापाथलीमा स्थित एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय र शाखा कार्यालयहरु विराटनगर मोरङ(आदर्शनगर विरगंज पर्सा), महेन्द्र पुल पोखरा, श्रवनपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेतमा आउँदो पुस १६ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ।       

 


Share this with your friends: