एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न

2022-04-04
एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आइतबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। 

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणमाथि छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। सभाले गत कात्तिक १० गते सम्पन्न सञ्चालक समितिको ५१२ औँ बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा विजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदनसमेत गरेको छ।

सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३–३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। सोबमोजिम संस्थापक सेयरधनीहरुका तर्पmबाट तुलसीराम अग्रवाल,  त्रिलोकचन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीहरुका तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। 

सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्रप्रसाद अर्याल तथा विनोदकुमार प्याकुरेललाई बैंकको प्रगतिमा पुर्याएको योगदानको कदर गर्दै सफल कार्यकालको उच्च मूल्यांकन गरेको छ। 

सभा सम्पन्न भएपश्चात बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औँ बैठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयनसमेत गरेको छ। 


Share this with your friends: