तीनवटा बैंकसँग एकैपटक मर्जर सम्झौता गर्ने नवीलको तयारी

2021-04-13
तीनवटा बैंकसँग एकैपटक मर्जर सम्झौता गर्ने नवीलको तयारी

काठमाडौं । दोश्रो बजारको ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले लामो गृहकार्यपछि तीनवटा बैंक तथा वित्तीय संस्थाहरुलाई एकैपटक मर्जर गर्ने तयारी थालेको छ । 

नवील बैंकले लामो तयारी गरी एक वाणिज्य बैंक, एक राष्ट्रिय स्तरको विकास बैंक र अर्को एक फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने तयारी गरेको हो । 

नवील बैंकमा ठूलो लगानी रहेको चौधरी ग्रुप निकट स्रोतकाअनुसार नवीलले नेपाल बंगलादेश बैंक, गरिमा विकास बैंक र यूनाइटेड फाइनान्सलाई अक्वायर गर्न खोजेको हो । 
तीनवटै बैंकका सीमित संचालकहरुलाई मात्र थाहा दिइएको यो विषयलाई नवीलले ‘सरप्राइज’को रुपमा सार्वजनिक गर्न खोजेको छ । 

विश्वस्त स्रोतकाअनुसार नवीलले नेपाल बंगलादेश बैंक र यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी चैत अन्तिममै प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्न चाहेको थियो । तर, यी दुई संस्थालाई लिँदा कायम हुने सेयर स्वाप रेसियोमा सामान्य कुरा नमिलेपछि सम्झौताको मिति केही पर धकेलिएको हो । यी दुई संस्थासँगै गरिमा विकास बैंकसँगको मर्जरको कुरा समेत सकारात्मक रुपमा अगाडि बढेपछि केही समय पर्खिएर ढिलोमा बैशाख दोश्रो साताभित्र नवीलले तीनवटै संस्थालाई प्राप्ति गर्ने तयारी गरेको छ । 

नवीलले नेपाल बंगलादेश बैंकलाई ३० रुपैयाँ मूल्य दिइसकेको छ । तर, बंगलादेश बैंकले त्यति मूल्यमा समाहित हुन चाहिरहेको छैन । यूनाइटेड फाइनान्सलाई भने नवीलले ३५ रुपैयाँ दिने पक्कापक्की नै भइसकेको छ । बंगलादेश बैंकले यूनाइटेड फाइनान्सले ३५ रुपैयाँ पाए आफूले उसको भन्दा ५ रुपैयाँ बढी मूल्य पाउनुपर्ने अडान लिएको छ । यसको अर्थ बंगलादेश बैंकले ४० रुपैयाँ मूल्य मागेको छ । नवीलले अन्तिममा बंगलादेश बैंकलाई पनि ३५ रुपैयाँसम्म दिने तयारी सुरु गरेको स्रोतको दाबी छ । बंगलादेश बैंक र यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँ(समान मूल्य) दिएपछि गरिमा विकास बैंकलाई पनि सोही मूल्यमा गाभ्ने तयारी भइरहेको छ । 

यो विषयमा नवील बैंकले गठन गरेको मर्जर कमिटीमा समेत छलफल भइसकेको छ । पछिल्लो समय प्राप्तिको प्रयास गरिएको गरिमा विकास बैंकका संचालकहरुसँग नवील बैंकले गठन गरेको मर्जर कमिटीका सदस्य सचिव तथा नवीलका डिजिएम मनोज ज्ञवालीले एकचरण कुरा समेत गरिसकेका छन् । गरिमाले पहिलो चरणमा आफूहरु कुनै पनि बैंकसँग बिलय नहुने जवाफ दिएको भए पनि राम्रो मूल्य पाउँदा ऊ पनि नवीलसँग बिलय हुन तयार रहेको संकेत दिएको भन्दै ज्ञवालीले चौधरी ग्रुपलाई ब्रिफिङ गरेका छन् । ज्ञवाली नवील बैंकमा रहेका चौधरी ग्रुपका सबैभन्दा विश्वास पात्र हुन् । 

‘अहिलेसम्मको अवस्था हेर्दा तीनवटै संस्थालाई नवीलले लिने गरी एमओयू हुने अत्यधिक संभावना छ ।’ चौधरी ग्रुपका एक सदस्यले बीमापत्रिकासँग भने–‘नवीलले बैशाख दोश्रो साताभित्र केही न केही सरप्राइज दिने कुरामा ढुक्क भए हुन्छ ।’ 

यसैबीच, नवील बैंकले एनसीसी बैंकसँग पनि फेरि मर्जरको कुरा अगाडि बढाएको छ । विनोद चौधरीले ठूलो परिमाणमा एनसीसीको सेयर किनेको देखिएपछि अगाडि बढिसकेको भनिएको मर्जरको छलफल केही समय स्थगित भएको थियो । यदि एनसीसी पनि आउन चाहेमा चारवटै संस्थालाई एकसाथ गाभेर देशकै ठूलो बैंक बन्ने नवीलको योजना छ । 

सीइओ को ?

नवीलले कम्तीमा तीनवटा बैंकसँग एकसाथ प्राप्तिको सम्झौता गर्ने तयारी गरिरहँदा आगामी सीइओ को बन्ने भन्ने विषयमा समेत बहस सुरु भएको छ । चौधरी ग्रुपले मर्जरपछि बन्ने नवील बैंकको सीइओमा अहिलेको सीइओ अनिलकेशरी शाहलाई निरन्तरता नदिने तयारी गरेको छ । शाह सेलिब्रेटी बैंकर मात्र भएका र अपेक्षा गरेजस्तो राम्रो काम नगरेका चौधरी ग्रुपको निश्कर्ष छ । उसो भए मर्जरपछि बन्ने नवील बैंकको सीइओ को होला त ? 

चौधरी ग्रुप निकट स्रोतका अनुसार नेपाल बंगलादेश बैंकका बंगलादेशी लगानीकर्ताहरुलाई विनोद चौधरीले मर्जरपछि बन्ने बैंकको सीइओ दिन सकिने वचन दिइसकेका छन् । यसको अर्थ मर्जरपछि बन्ने नवील बैंकको सीइओ ज्ञानेन्द्रप्रसाद ढुंगाना बन्ने लगभग पक्काजस्तै रहेको स्रोत दाबी गर्छ । 

अहिले ढुंगानालाई सीइओ बनाएर अनिल शाहलाई विदा गर्ने र एक कार्यकाल ढुंगानालाई सीइओ खान दिएर अर्को विकल्प खोज्ने नवील बैंकको योजना रहेको समेत स्रोत बताउँछ । नवील बैंकले केही वर्षपछिको सीइओको रुपमा डिजिएम मनोज ज्ञवालीलाई अगाडि बढाउन खोजेको छ ।


Share this with your friends: