दुईवटा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुँदै

2020-12-01
दुईवटा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुँदै

काठमाण्डौ । नेपालमा दुईवटा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने भएको छ । 

बीमा समितिस्थित उच्च स्रोतका अनुसार दुई समूहले छुट्टा छुट्टै कम्पनी स्थापनाका लागि पहल गरिरहेका छन् । 

ती दुई कम्पनीमध्ये एउटा कम्पनी डलर अर्बपति उपेन्द्र महतोको हो भने अर्को कम्पनी चाहिँ बीमा क्षेत्रमा लामो समयदेखि अनुभव हासिल गरेकाहरुको हो । 
दुवै कम्पनीले नयाँ पुनर्बिमा कम्पनी स्थापनाका लागि आवेदन दिने तयारी गरिरहेका छन् र उनीहरुले हामीलाई मौखिक रुपमा यस विषयमा जानकारी पनि गराइसकेका छन् । बीमा समितिका एक उच्च अधिकारीले बीमापत्रिकालाई भने ः संभवत पुस दोश्रो साताभित्र नयाँ पुनर्बिमा कम्पनी स्थापनाका लागि लिखित आवेदन पर्नेछ । 

लिखित आवेदनको आवश्यक अध्ययन गरी तथा अर्थमन्त्रालयसँग समेत परामर्श गरी नयाँ पुनर्बिमा कम्पनीलाई संचालनका लागि लाइसेन्स दिन सकिने ती अधिकारीले जानकारी दिए । 

एउटा मात्र पुनर्बिमा कम्पनी हुँदा उसले प्रवाह गर्ने सेवा राम्रो नभएको गुनासोको सम्बोधनका लागि पनि नयाँ कम्पनी बजारमा भित्र्याउनुपर्नेमा ती अधिकारीको जोड थियो । 

नयाँ पुनर्बिमा कम्पनी थप भएपछि यस्ता कम्पनीको चुक्तापूँजी लगायतको विषयमा ठोस नीति बन्ने र पुनर्बीमाको क्षेत्रमा समेत आकर्षण थपिने बीमा समितिका अधिकारीहरुको दाबी छ । 


Share this with your friends: