नबिलले रु. ३० मात्र दिएपछि गरिमा चिढियो, बंगलादेश बैंक र यूनाइटेड फाइनान्समात्रै मर्जरमा जाने !

2021-04-20
नबिलले रु. ३० मात्र दिएपछि गरिमा चिढियो, बंगलादेश बैंक र यूनाइटेड फाइनान्समात्रै मर्जरमा जाने !

काठमाडौं । नबिल बैंकसँग सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि गरिमा विकास बैंक मर्जरबाट पछाडि हटेको छ । 

गरिमाले मागेको सेयर स्वाप रेसियो नवील बैंकले नदिने अडान लिएपछि संभावित मर्जर टरेको स्रोतहरुले दाबी गरेका छन् । 

गरिमा विकास बैंक र नवीलबीच विगत २ वर्षदेखि संभावित मर्जरका लागि औपचारिक, अनौपचारिक कुराकानीहरु भइरहेका थिए । विगत एक महिनादेखि भने केही गम्भीर छलफल भएका थिए । सो क्रममा राम्रो मूल्य पाए नवीलमा बिलय हुन गरिमा विकास बैंक तयार भए पनि अपेक्षित मूल्य दिन नवीलले नमानेपछि संभावित मर्जर टरेको दाबी गरिएको छ । 

‘नवील बैंकले गरिमा विकास बैंकलाई १००ः३० को सेयर स्वाप अनुपातमा किन्न चाहेको थियो । तर, गरिमाले सो प्रस्ताव नमानेपछि संभावित मर्जरको कोर्स लगभग समाप्त भएको छ ।’ स्रोतले भनेको छ–‘गरिमा विकास बैंकका संचालकहरु १००ः४० को सेयर स्वाप अनुपात पाएको खण्डमा मर्जरमा जाने तयार थिए, तर नवीलले ४० रुपैयाँको दरले लिन मानेन् ।’ 
गरिमा विकास बैंकका संचालक तथा व्यवस्थापनका उच्च अधिकारीहरु भने नवीलसँग मर्जरको कुरै नभएको दाबी गरिरहेका छन् । तर, चौधरी ग्रुप निकट उच्च स्रोतले भने गरिमा विकास बैंकका संचालकहरु विगत २ वर्षदेखि नवीलका संचालकहरुसँग संभावित मर्जरको विषयमा छलफलमा रहेका दाबी गरेको छ । 

गरिमा विकास बैंकका एक संचालकले बैंकले कुनै बैंकसँग मर्जरमा नजाने वा बिलय नहुने संचालक समितिले नै निर्णय गरेकोले नवीलमा जाने कुरा हल्ला मात्र रहेको दाबी गरेका छन् । 
यसरी गरिमा विकास बैंकसँग कुरा नमिलेपछि अब नवील बैंकले नेपाल बंगलादेश बैंक र यूनाइटेड फाइनान्ससँग मात्रै अक्वायरको सम्झौता गर्ने तयारी थालेको छ । बैशाखभित्र यी दुई संस्थासँग अक्वायरको सम्झौता भइसक्ने चौधरी ग्रुप निकट स्रोतले दाबी गरेको छ ।


Share this with your friends: