नबिलबाट मर्जरको प्रस्ताव आएको गरिमा बैंकको पुष्टि, ‘तर निर्णय भइसकेको होइन’

2021-04-15
नबिलबाट मर्जरको प्रस्ताव आएको गरिमा बैंकको पुष्टि, ‘तर निर्णय भइसकेको होइन’

काठमाडौं । नबिलसँग मर्जरमा जाने तयारीमा रहेको गरिमा विकास बैंकले सो विषयमा आधिकारिक रुपमा मुख खोलेको छ । 

बीमापत्रिकासँग कुरा गर्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले नवीलसँग मर्जरको कुरा भइरहेको खुलाएका हुन् । 

‘हाम्रो संचालक समितिले गरिमा विकास बैंकलाई कतै पनि बिलय नगराउने निर्णय गरेको छ ।’ उनले भने–‘तर कहीँ कतैबाट राम्रो प्रस्ताव आएमा जाँदै नजाने भन्ने पनि हुँदैन ।’ 
ढकालकाअनुसार नबिल बैंकले आफ्नो दूत खटाएर गरिमालाई मर्जरको प्रस्ताव भने गरेको हो । ‘नवीलको मर्जर कमिटीका सदस्य सचिव मनोज ज्ञवालीमार्फत गरिमाको लाइन के हो भन्ने हिसाबले त्यस्तो प्रस्ताव भने आएको हो ।’ उनले थपे–‘तर सो विषयमा थप छलफल भएको छैन । हाम्रो संचालक समिति कतै पनि बिलय नहुने, बरु आफैं ठूलो बन्ने पूर्व निर्णयमा अडिग नै छ ।’

यसैबीच, गरिमा विकास बैंक नवीलसँग मर्जरमा जाने तयारी भएको विषय बाहिरिएसँगै सो कम्पनीको दोश्रो बजार मूल्य बढ्न थालेको छ । गरिमासँगै नवील बैंकसँग मर्जरका लागि अन्तिम चरणको छलफलमा बसेका नेपाल बंगलादेश बैंक र यूनाइटेड फाइनान्सको मूल्य समेत बढिरहेको छ । 

नवील बैंकमा ठूलो लगानी रहेको चौधरी ग्रुपनिकट स्रोतका अनुसार नेपाल बंगलादेश बैंक र यूनाइटेड फाइनान्स नवीलमा बिलय हुने विषय लगभग टुंगोमा पुगिसकेको छ । यी दुवै बैंकसँगै गरिमासँग पनि मर्जरको प्रारम्भिक सम्झौता गर्ने तयारीले औपचारिक रुपमा निर्णय आउन भने केही ढिलाई हुने देखिएको छ ।

 


Share this with your friends: