नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.२ अर्ब बढी लगानी गर्ने

2022-04-26
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.२ अर्ब बढी लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६५ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७ जेठ ३ गतेदेखि २०८० जेठ २ गतेसम्म ३६५ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । 

बैंकले  ‘क’ वर्गका वाणिज्य बैङ्कमा १ अर्ब ६० करोड ५ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा ३० करोड र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा १० करोड गरी कुल २ अर्ब ५ लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ । 

इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी वैशाख २० गते राती १२ बजेभित्र सिलबन्दी प्रस्ताव पेस गनुपर्ने बैङ्कले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।

यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने तथा आव २०७६र७७ मा सञ्चालन मुनाफामा रहेको तथा रियल स्टेट कर्जा बैङ्कबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने छ ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने छ ।

शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने बैंकले जनाएको छ ।


Share this with your friends: