बजारको ब्लुचिपद्वारा लगानीकर्तालाई धोका, मुद्दति निक्षेपको ब्याजदरभन्दा कम लाभांश घोषणा

2022-09-16
बजारको ब्लुचिपद्वारा लगानीकर्तालाई धोका, मुद्दति निक्षेपको ब्याजदरभन्दा कम लाभांश घोषणा

काठमाडौं । सेयर बजारको ब्लुचिप कम्पनी मानिने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योपटक लगानीकर्तालाई निराश बनाउने गरी लाभांश घोषणा गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो पटक नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार ७१९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

यो नगद लाभांशमा ०.७८९५ प्रतिशतबराबरको रकम कर प्रयोजनका लागि हुने कम्पनीले स्पष्ट पारेको छ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको २२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ। 

कम्पनीले घोषणा गरेको लाभांश कतिपय बैंकहरुले मुद्दति निक्षेपमा दिंदै आएको ब्याजदरभन्दा कम हो । 

यो कम्पनीले विगतमा बम्पर लाभांश दिने गरेको थियो । नगदभन्दा बोनस सेयरमा जोड दिने गर्दा विगतमा नेपाल लाइफमा लगानी गर्ने सेयरधनी मालामाल हुने गरेका थिए । लाभांशको लोभलाग्दो रेकर्ड निरन्तर हुने ठानेर वर्ष दिनअघि यो कम्पनीको सेयर महंगो मूल्यमा खरीद गर्ने लगानीकर्ता अहिले टाउकोमा हात राख्न बाध्य छन् । 


Share this with your friends: