बजारले रिजेक्ट गर्यो पूँजी वृद्धिको योजना,बीमा कम्पनीहरुको सेयरमूल्यमा ४३%सम्मको गिरावट

2022-06-01
बजारले रिजेक्ट गर्यो पूँजी वृद्धिको योजना,बीमा कम्पनीहरुको सेयरमूल्यमा ४३%सम्मको गिरावट

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ । गत भदौ ३ मा ३१९८.६० बिन्दुको ऐतिहासिक उचाई चुमेको नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै अहिले २१०० को लाइनमा झरेको छ । 

परिसूचकमा गिरावटसँगै कारोबार रकममा पनि उल्लेख कमी आएको छ । राष्ट्र बैंकले ल्याएको सेयर धितो कर्जामा ४–१२ को क्याप, सीसीडी रेसियोलाई सीडी रेसियोमा रुपान्तरण, जोखिम भार अनुपातमा वृद्धिलगायतका विभिन्न व्यवस्थाले नेपाली सेयर बजार अधोगतितर्फ उन्मुख छ । 
परिसूचकमा आईरहेको निरन्तरको गिरावटका कारण नेप्सेमा कारोबार भईरहेका प्रायःसबैजसो कम्पनीहरुको सेयरमूल्य घटिरहेको छ । यस्तोमा १३ वटा उपसूचकहरुमध्ये एक निर्जीवन बीमा उपसूचक अन्तर्गतका कम्पनीहरुको सेयरमूल्यमा पनि गिरावट आईरहेको छ । राष्ट्र बैंकको नीतिका कारण पहिले देखि नै घटिरहेको बीमा कम्पनीहरुको सेयरमूल्य, बीमा कम्पनीहरुले एक वर्षभित्र पुँजी वृद्धि गर्नुपर्ने समितिको निर्णयले थप घटेको छ ।

समितिको यो निर्णयले हकप्रद र बोनस सेयरको आश गरेका लगानीकर्ताहरु कम्पनीहरुले मर्जरको बाटो रोज्न थालेपछि निराश बनेका छन् ।  जसका कारण लगानीकर्ताहरुले घाटा खाएर भएपनि सस्तोमा सेयर बिक्री गरिरहेका छन् । 

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै नेपाल इन्स्योरेन्सको सेयरमूलय सबैभन्दा मूल्यमा सर्वाधिक गिरावट आएको छ । गत चैत १० गते प्रतिकित्ता ८८२ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अहिले ४३.३१ प्रतिशतले घटेर प्रतिकित्ता ५०० रुपैयाँमा सीमित भएको छ । यस्तै यो अवधिमा सेयरमूल्यमा सबैभन्दा धेर गिरावट आउनेमा प्रडेन्सियल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । गत चैत १० गते प्रतिकित्ता ६९७ रहेको यो कम्पनीको सेयरमूल्य ४३.०४ प्रतिशतले घट्दै प्रतिकित्ता ३९७ रुपैयाँमा सीमित भएको छ । 

सूचीको तेस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहेको छ । गत चैत १० गते १४०५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अहिले ८३० रुपैयाँमा झरेको छ । 
यस अवधिमा लुम्बिनी जनरलको सेयरमूल्य ४०.७७ प्रतिशतले घट्दै प्रतिकित्ता ४४६ रुपैयाँमा सीमित भएको छ । 

यसैगरी प्रभु इन्स्योरेन्सको सेयरमूल्य ३९.९७,सिद्धार्थ इन्स्योरेन्स ३८.७१,युनाइटेड इन्स्योरेन्स ३७.२,आइएमई जनरल ३६.१४,एनएलजी इन्स्योरेन्स ३५.०७,शिखर इन्ूस्योरेन्स ३३.१४,नेको इन्स्योरेन्स ३०.४६,प्रिमियर २८.६२,सानिमा जनरल २७.५,अजोड २६.८९,जनरल इन्स्योरेन्स २६ र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य १४.९५ प्रतिशतले घटेको छ ।  

 जीवन बीमा

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा पनि गिरावट आएको छ ।यस अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये सूर्या लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । गत चैत १० गते प्रतिकित्ता ७६० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य ४३२ रुपैयाँमा झरेको छ । कम्पनीको सेयरमूल्यमा आएको यो गिरावट ४३.१८ प्रतिशत हुन आउँछ । त्यस्तै प्रतिकित्ता ६६० रुपैयाँ रहेको ज्योति लाइफको सेयरमूल्य ३८.७९ प्रतिशतले घट्दै प्रतिकित्ता ४०४ रुपैयाँ कायम भएको छ । 

यस अवधिमा एलआईसी नेपालको सेयरमूल्य पनि ३६.७४ प्रतिशतले घट्दै प्रतिकित्ता १३२९ रुपैयाँमा झरेको छ । 

यस्तै एशियन लाइफको सेयरमूल्य ३६.६९ प्रतिशत,सानिमा लाइफ ३४.२९,रिलायन्स लाइफ ३१.५८,नेशनल लाइफ ३०.५५,नेपाल लाइफ २५.६७ र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा २५.१६ प्रतिशतको गिरावट आएको छ ।  


Share this with your friends: