बीमा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

2021-12-19
बीमा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

काठमाण्डौ । मानव जीवनमा अनिश्चितता कुनै पनि समय आउँन सक्छ। जस्तै कि असामायिक निधन वा स्वास्थ्य आपतकाल। यस्तै दुर्घटना वा सवारी साधन, सम्पत्ति इत्यादि को नोक्सानी पनि हुने सम्भावना हुने गर्छ । 

यस्ता कठिन अवस्थाहरुबाट पार पाउन निकै ठूलो रकमको आवश्यकता पर्न सक्दछ। यसका लागि आफुले बचत गरेर राखेको रकम र परिवारले निकै मेहनत गरेर कमाएको सम्पत्ति प्रयोग गर्ने अवस्था सिर्जना हुन सक्छ। तसर्थ जीवन,स्वास्थ्य र सम्पत्तिसँग सम्बन्धित जोखिमहरुका लागि परिवारलाई उपयुक्त कभरेज र वित्तीय आड प्रदान गर्ने बीमाको आवश्यकता पर्ने गर्दछ। 

तर बीमा गर्दा केहि कुरामा भने विशेष ध्यान दिनुपर्ने हुन्छ । बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्ः

.बीमितले बीमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बीमा यकीन गरी त्यससँग सम्बन्धित प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरू स्पष्टसँग खुलाई भर्नु पर्दछ । 

२. बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवम् सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नु पर्दछ ।

३. बीमितले आफ्नो पेशा, व्यवसाय एवम् आर्थिकस्तर समेतलाई ध्यानमा राखेर बीमालेख खरीद गर्नु पर्दछ ।

४. बीमाशुल्क बुझाउने तथा बीमालेख नवीकरण गर्ने मिति, इच्छाइएको व्यक्तिको नाम,बीमालेख वापत रकम पाउने, नपाउने जस्ता विषयमा बीमालेख खरिद गर्नुभन्दा अगाडि नै राम्रोसँग बुझ्नु पर्दछ ।

५. बीमितले बीमाशुल्क बुझाएपछि त्यसको आधिकारिक भर्पाई वा रसिद लिनु पर्दछ ।

६.बीमा सम्बन्धी प्रस्ताव फारम बीमित स्वयम्ले भर्नु पर्दछ । यदि बीमित निरक्षर वा प्रस्ताव फारम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नु पर्दछ 

७. बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीका बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नु पर्दछ ।

८. बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमा नै बीमालेख नवीकरण गर्नु पर्दछ ।

९. बीमा सम्बन्धी प्रचलित नीति नियमहरू तथा कानूनका बारेमा जानकारी राख्नु पर्दछ ।

१०. बीमितले आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजातहरू सुरक्षित राख्नु पर्दछ ।

११.हाल प्रविधिको विकाससँगै विभिन्न बैकिङ प्रणाली तथा डिजिटल भुक्तानी पोर्टल मार्फत घरबाट नै बीमाशुल्क बुझाउन सकिने भएकाले त्यस सम्बन्धमा राम्रोसँग जानकारी लिएर मात्र भुक्तानी गर्नु पर्दछ ।


Share this with your friends: