सगरमाथाले हिमालयन जनरललाई प्राप्ति गर्ने, सेयर स्वापमा बन्यो यस्तो सहमति

2021-06-09
सगरमाथाले हिमालयन जनरललाई प्राप्ति गर्ने, सेयर स्वापमा बन्यो यस्तो सहमति

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले हिमालयन जनरल इन्स्योरेन्सलाई प्राप्ति गर्ने भएको छ ।

यी दुई निर्जीवन बीमा कम्पनीका संचालकहरुबीच एकआपसमा गाभ्ने÷गाभिने गरी आवश्यक प्रक्रियाहरु अगाडि बढाउने सहमति बनेको हो । 
सगरमाथा इन्स्योरेन्सस्थित उच्च स्रोतकाअनुसार हिमालयन जनरल इन्स्योरेन्सलाई १००ः७० को सेयर स्वाप अनुपातमा गाभ्ने गरी सहमति बनेको छ । ‘निषेधाज्ञा केही सहज भएलगत्तै हामी एक समारोहका बीच प्राप्ति सम्झौताको औपचारिक घोषणा गर्नेछौं ।’ सगरमाथाका एक संचालकले भने ।
सगरमाथा र हिमालयन जनरलले नै गाभ्ने÷गाभिने विषयमा आफूहरुबीच भएको सहमतिको विषयमा बीमा समितिका अधिकारीहरुलाई जानकारी गराइसकेका छन् । बीमा समितिका अधिकारीहरु पनि बलिया र ठूला बीमा कम्पनीहरुको पक्षमा रहेकाले सकारात्मक प्रतिक्रिया आएको ती संचालकले दाबी गरे । 

पछिल्लो समय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको आकार बढाउनुपर्ने नीति लिएको देखिन्छ । यही नीतिका कारण कतिपय कम्पनीले हकप्रद निश्कासन गर्ने अनुमति मागेका छन् । हकप्रदको अनुमति मागेका सबैलाई स्वीकृति नदिने बीमा समितिको रणनीति देखिन्छ । 

बीमा समितिले समेत बरु निर्जीवन बीमा कम्पनीहरुबीच गाभ्ने÷गाभिने सम्झौता भएको खण्डमा संख्या पनि घट्ने र सवल कम्पनीहरु बन्ने पक्षमा तीव्र लविङ गरिरहेको स्रोतको भनाई छ । 

अर्को एक स्रोतले भने बीमा समितिले हाल अस्तित्वमा रहेका निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा लगेर संख्या घटाई फेरि केही निर्जीवन बीमा कम्पनी थप्ने गोप्य तयारी गरिरहेको दाबी गरेको छ । ‘चुनावी खर्च जुटाउनका लागि समेत थप केही निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी भइरहेको छ, यसका लागि भइरहेका कम्पनीहरुलाई मर्जरमा लगेर संख्या घटाउने नीति समेत लिएको देखिन्छ ।’ स्रोतले भन्यो । 

यस्ता कम्पनीलाई लाइसेन्स दिंदा सत्तासीन दलका विभागीय मन्त्रीसम्म मोटो रकम घूसको रुपमा पुग्ने गर्छ । 

सगरमाथा र हिमालयन जनरल मर्जपछि कस्तो बन्ला कम्पनी ?

चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणअनुसार सगरमाथा इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब रहेको छ । हिमालयन जनरलको पनि १ अर्ब नै रहेको छ । 

तेश्रो त्रैमासमा सगरमाथाले ९५ करोड बढी बीमा शुल्क आर्जन गरेको छ भने हिमालयनले २१ करोड ६३ लाख मात्र बीमा शुल्क आर्जन गरेको छ । 
समीक्षा अवधिमा हिमालयनले ९ करोड १० लाख खूद नाफा कमाएको छ भने सगरमाथाले २८ करोड ५४ लाख बढी नाफा आर्जन गरेको देखिएको छ । 
चालु आबको तेश्रो त्रैमाससम्म सगरमाथाको बीमा कोषको आकार ९५ करोड ६६ लाख रहेको छ भने हिमालयनको ६० करोड ७४ लाख बढीको रहेको छ । 

हिमालयनको प्रतिसेयर आम्दानी ११.३६ रुपैयाँ रहेको छ भने सगरमाथाको ३८ रुपैयाँ रहेको छ । 

दोश्रो बजारमा हिमालयन जनरलको मूल्य प्रतिकित्ता ९३० रुपैयाँको हाराहारीमा पुगिसकेको छ भने सगरमाथाको मूल्य प्रतिकित्ता १६७० हाराहारीमा रहेको छ । 

 


Share this with your friends: