आधुनिक नेपाल लाइफ पाठशालाको शुभारम्भ

2022-03-27
आधुनिक नेपाल लाइफ पाठशालाको शुभारम्भ

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ। 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त ‘नेपाल लाइफ पाठशाला’ को उद्घाटन गरेका हुन्। 

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गरे। कार्यक्रममा उनले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीयस्तरमा समेत विस्तार गरिने सोच रहेको बताए। उनले नेपाल लाइफ पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेछ भन्ने विश्वास व्यक्त गरे। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यावसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न ‘नेपाल लाइफ पाठशाला’ को स्थापना गरिएको बताए। 

आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरुमार्फत अभिकर्ता र कर्मचारीका लागि नियमित तालिम एवं सेमिनारहरु सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई संघई सुझाव दिए। 

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका सञ्चालकहरु रामअवतार अग्रवाल र विमलप्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी, विभागीय प्रमुखहरु र अभिकर्ताको उपस्थिति थियो।


Share this with your friends: