एक वर्षमा बीमा कम्पनीहरुको कार्यालय संख्या १५.४९%ले वृद्धि,कर्मचारीको संख्या पनि १०.८१%ले बढ्यो

2022-03-02
एक वर्षमा बीमा कम्पनीहरुको कार्यालय संख्या १५.४९%ले वृद्धि,कर्मचारीको संख्या पनि १०.८१%ले बढ्यो

काठमाण्डौ । एक वर्षको अवधिमा बीमा कम्पनीहरुको कार्यालय संख्या १५.४९ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिनाको अन्त्यसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या ३ हजार ३०२ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो संख्या २ हजार ८५९ रहेको थियोृ । 

यसरी एक वर्षको अवधिमा बीमा कम्पनीहरुले ४४३ नयाँ कार्यालय थपेका छन् । 

यस्तै एक वर्षको अवधिमा बीमा कम्पनीहरुको कर्मचारी संख्या १०.८१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको माघ मसान्तसम्ममा १० हजार ५८९ रहेको कर्मचारी संख्या यो वर्षको माघ मसान्तसम्ममा ११ हजार ७४४ पुगेको छ । 

समितिको तथ्यांकअनुसार नेपालको कुल ३५.१८ प्रतिशत जनसंख्यामा  बीमाको दायरा विस्तार भएको देखिएको हो । 

समितिका अनुसार माघ मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ३५.१८ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा बीमाको पहुँचमा रहेको जनस्रख्या  २५.६९ प्रतिशत रहेको थियो ।

माघ मसान्तसम्ममा बीमा कम्पनीहरुले १ करोड २७ लाख ८२ हजार ४७७ बीमालेख जारी गर्दै १ खर्ब ३ अर्ब ११ करोड २८ लाख २७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । 


Share this with your friends: