ग्लोबल आइएमई बैंकद्वारा काभ्रेका शिक्षकका लागि सरल किस्ताबन्दी ल्यापटप योजना

2021-08-10
ग्लोबल आइएमई बैंकद्वारा काभ्रेका शिक्षकका लागि सरल किस्ताबन्दी ल्यापटप योजना

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाण्डौ टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाण्डौ टेम्पल पिसकोतर्फबाट सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदिप न्यौपानेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत रही  लियो क्लब अफ काठमाण्डौ टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रे जिल्लामा अध्यापनरत शिक्षकलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेछ। 

उक्त प्रक्रियामा शिक्षकहरुले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजी बाई इजी पेमार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सकिनेछ। यसका साथै बैंकले काभ्रेका शिक्षकहरुका लागि बैंकिङ साक्षारतासम्बन्धी कार्यक्रमसमेत आयोजना गर्नेछ। 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।


Share this with your friends: