दाबी भुक्तानीमा बिलम्ब नगर्न निर्देशन,ढिला भए ब्याज समेत तिर्नुपर्ने

2022-03-21
दाबी भुक्तानीमा बिलम्ब नगर्न निर्देशन,ढिला भए ब्याज समेत तिर्नुपर्ने

काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । जीवन बीमा कम्पनीहरुका सीईओहरु सँग आज भएको अन्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् । 

अन्तक्रिया कार्यक्रममा बोल्दै सिवलालले दाबी भुक्तानीमा ढिलाई हुदाँ बीमाप्रति आम मानिसहरुको विश्वास घट्दै गएको बताए । त्यसैले बीमाप्रति बिमितहरुको विश्वास कायम राखिरहन दाबी भुक्तानीमा बिलम्ब भए भुक्तानीको अवधिपछि दिनगन्ती गरेर बीमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरिने अध्यक्ष सिलवालले बताए । 

यस्तै उनले बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही हुने बताए ।  

सिलवालले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदा समेत बुझाइसकेको बताए । उक्त मस्यौदालाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको उनले बताए । 

यसैगरी कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने कताए । समितिका कार्यकारी निर्देशक पौडेलले समितिले एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिँदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमाप्रतिको विश्वास कायम राख्न आग्रह गरे । 


Share this with your friends: