नेपाल लाइफको लोभलाग्दो प्रगति: बिमाशुल्क ४२.७६% र जीवन बिमा कोषमा ३१.७९% छलाङ

2020-08-03
नेपाल लाइफको लोभलाग्दो प्रगति: बिमाशुल्क ४२.७६% र जीवन बिमा कोषमा ३१.७९% छलाङ

काठमाण्डौ । जीवन बिमामध्येकै टप नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।

यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ४२.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा नेपाल लाइफले १५ अर्ब ९८ करोड खूद बिमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले ५२ करोड ३२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा लेखापरीक्षण भएको नाफा १ अर्ब ११ करोड रुपैयाँ थियो । यो वर्षको ५२ करोड ३२ लाख नाफा भनेको लेखा परीक्षण नभएको अवधिको नाफा हो । 

कम्पनीले समीक्षा अवधिमा लगानी, कर्जा तथा अन्यबाट हुने आय ४ अर्ब ४८ करोडको उचाईमा पुर्याएको छ भने बिमालेखको धितोमा कर्जाबाट हुने आय १ अर्ब ८ करोड पुगेको छ । 

पुनर्बिमा कमिसनबाट हुने आय २ करोड ३४ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ९९ करोड दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब ४२ करोड दाबी भुक्तानी गरेको थियो । 

कम्पनीले अघिल्लो वर्ष ४९ अर्ब ५९ करोडमा सीमित जीवन बिमा कोषको आकार बढाएर ६५ अर्ब ३६ करोडको उचाई चुमाएको छ । यसरी हेर्दा एक वर्षको अवधिमा जीवन बिमा कोषमा नेपाल लाइफले ३१.७९ प्रतिशतले जीवन बिमा कोषको आकार बढाएको देखिन्छ । 

महाविपत्ति जगेडामा ४३ करोड ६७ लाख रुपैयाँ रहेको छ भने रिजर्बमा २ अर्ब ४३ करोड रहेको छ । 

लेखापरीक्षण नभएको अवधिको कम्पनीको प्रतिसेयर आम्दानी ९.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.२८ रुपैयाँ र पीई अनुपात ९४.६४ गुणा कायम भएको छ । यो अवधिमा कम्पनीको औसत प्रतिफल दर १०.१८ प्रतिशत रहेको छ । 

माथि उल्लिखित सबै विवरण बिमाङ्कीय मूल्याङ्कन हुन बाँकी रहेका छन् । 


Share this with your friends: