युनियन लाइफद्वारा नयाँ बीमा योजना सार्वजनिक,यस्ता छन सुविधा

2022-03-25
युनियन लाइफद्वारा नयाँ बीमा योजना सार्वजनिक,यस्ता छन सुविधा

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक गरेको छ। 

बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ। कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्यून आय भएका व्यक्तिहरुदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ। न्यूनतम रु। ५० हजारदेखि आयस्रोतका आधारमा चाहेअनुसार बीमांक रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देखिएको छ। 

यसका साथै न्यूनतम ९ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ। बीमा गर्ने व्यक्ति बीमाअवधिसम्म जीवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमांक रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा समेत बीमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ। कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमांकबराबरको थप रकम र बोनस रकमसमेत उपलब्ध हुनेछ। 

उक्त योजनामा दुर्घटना लाभबापतको अधिकतम रकम १ करोडसम्म हुने व्यवस्था रहेको छ। 

प्रत्येक ३ वर्ष पूरा भएको बीमालेखको वार्षिकोत्सव मितिमा अग्रिम भुक्तानीबापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तिमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकमपश्चात बाँकी हुन आउने बीमांक रकम र बोनससमेत प्रदान गरिने व्यवस्था रहेको छ। 

यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोगसम्बन्धी थप सुविधाहरु लिन सक्ने व्यवस्था रहेको छ। यसका साथै बीमालेख लिएको मितिले तीन वर्ष पूरा भएपश्चात समर्पण मूल्य, चुक्ता मूल्य तथा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णका अनुसार प्रत्येक ३ वर्षपछि अग्रिम भुक्तानी हुने र सबै वर्गका मानिसहरुको पहुँचमा पुर्याउने उद्देश्यले ल्याइएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको छ।  


Share this with your friends: