समितिको स्थलगत निरीक्षणको क्रममा कोरोना बीमाको दाबी भुक्तानीमा देखिए यस्ता समस्या

2020-12-10
समितिको स्थलगत निरीक्षणको क्रममा कोरोना बीमाको दाबी भुक्तानीमा देखिए यस्ता समस्या

काठमाण्डौ । विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरुलाई मध्यनजर गर्दै नियामक निकाय बीमा समितिले कोरोना बीमाको पुल व्यवस्थापक शिखर इन्स्योरेन्स लिमिटेडमा स्थलगन निरीक्षण गरेको छ। समितिले उक्त निरीक्षणका दौरान ४ वटा मुख्य समस्याहरु पहिल्याएको जनाएको छ। 

निरीक्षणका क्रममा बीमा लेख खरिद गरेका बीमितहरुले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड २०७७ ले तोकेका सम्पूर्ण कागजातहरु सहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित बीमा कम्पनीले सबै कागजात पुरा भए नभएको एकिन गरी कागजात पुरा भएका फाइलहरु भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा पठाउनु पर्नेमा केहि फाइलहरु कागजात पुरा नगरेको देखिएकाले समितिले सबै निर्जीवन बीमा कम्पनीलाई सबै कागजात हेरी रुजु गरेर मात्रै पठाउन निर्देशन दिएको जनाएको छ। 

यस्तै कोरोना बीमाको लेखा परिक्षण महा लेखा परिक्षकको कार्यालयबाट हुने हुँदा कोरोना बीमा मापदण्ड अनुसार स्पष्ट नभएका कतिपय कोरोना परिक्षण रिपोर्ट नेपाल सरकार, इपीडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेसनका लागि पठाउनुपर्ने भएकाले कोरोना बीमाको दाबी भुक्तानीमा विलम्व हुन गएको समितिले जनाएको छ। 

एउटै दाबी विभिन्न बीमा कम्पनीहरुबाट छुट्दा छुट्दै भुक्तानी नगर्ने हुदाँ कतिपय दाबीहरु दोहोरो पर्ने भएकाले भेरिफिकेशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केहि ढिला भएको देखिएको समितिले जनाएको छ। 

यसैगरी समितिले गत असोज र कात्तिक महिनामा कोरोना संक्रमण धेरै देखिएकाले बीमा कम्पनीहरु र बीमा समितिमा कार्यरत कर्मचारीलाई समेत संक्रमण देखिएकाले यी महिनाहरुमा दाबी भुक्तानी प्रक्रिया अवरुद्ध हुन पुगेको जनाएको छ। 

समितिले असोज र कात्तिक महिनाको कोरोना बीमाको दाबी भुक्तानीको चाप कम भएपछि नियमित रुपमा भुक्तानी प्रक्रिया सञ्चालन गर्ने र सबै बीमित बर्गले दाबी भुक्तानी प्राप्त गर्न सक्ने जनाएको छ।     

 


Share this with your friends: