थाइल्याण्डका दुई बीमा कम्पनीलाई व्यवसाय गर्न रोक

2022-03-21
थाइल्याण्डका दुई बीमा कम्पनीलाई व्यवसाय गर्न रोक

काठमाण्डौ । थाइल्याण्डको बीमा नियामक‘अफिस अफ इन्स्योरेन्स कमिसनले(ओआईसी)ले दुईवटा बीमा कम्पनीलाई नयाँ बीमा व्यवसाय गर्न रोक लगाएको छ। तोकिएको समयभित्र वित्तीय अवस्था सच्चाउन निर्देशन दिदैँ ओआईसीले साउथइष्ट इन्स्योरेन्स र थाई इन्स्योरेन्सलाई नयाँ निर्जीवन बीमा पोलिसीहरु बिक्री नगर्न निर्देशन दिएको हो। 

ओआईसीका सेक्रेटरी जनरल डा.सुथिफोन थावीचैयागर्नले यी दुवै कम्पनीले कानुनले तोके बमोजिम पुँजी पर्याप्तता अनुपात वृद्धि गर्नका लागि ३० दिनभित्र रकम जुटाउनुपर्ने बताएका छन्। 

सुथिफोनका अनुसार यी दुवै कम्पनीको वित्तीय अवस्था अस्थिर हुनुका साथै सम्पत्तिभन्दा दायित्व अधिक छ। 

कोरोना बीमालेखको बिक्रीबाट घाटा व्यहोरेका यी दुई कम्पनीसँग दाबी भुक्तानीका लागि प्रयाप्त तरलताको अभाव छ। यस्तै कम्पनीका लगानीकर्ताहरुले यस विषयको सहजताका लागि थप आर्थिक सहयोग नगर्ने निर्णय गरेका छन्। 

दुवै कम्पनीले गत मार्च १६ गते व्यवसाय बन्द गर्न आवश्यक सर्तहरु पालना गर्न असमर्थ रहेको भन्दै ओआईसीलाई जवाफ दिएका थिए। यसर्थ ओआईसीको सञ्चालक समितिलाई आवश्यक परे कारबाही गर्न सिफारिस गरिएको छ। 

ओआईसीले कम्पनीहरुलाई सम्पत्ति बिक्री गरी दाबी भुक्तानी गर्न वा पोलिसीहोल्डरहरुको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको छ। कम्पनीहरुले दाबी भुक्तानी गरेको कागजात प्रमाणको रुपमा राख्नुपर्ने र भुक्तानी प्रक्रियालाई सहज गर्नका लागि प्रयाप्त कर्मचारीका साथ प्रत्येक दिन कार्यालय खोल्नु पर्ने व्यवस्था गरिएको छ। 

 


Share this with your friends: