जीवन विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2022-03-18
जीवन विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी चैत २५ गते शुक्रबारका दिन मोरङ कटरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको अधिकृत पूँजी १ अर्बबाट वृद्धि गरी २ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरिनेछ । सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांस गरी कुल ७३.६८ पतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० हजार रुपैयाँबराबरको बोनस सेयर र ३।६८ प्रतिशतले हुन आउने २ करोड २४ लाख १४ हजार ७३६।८४ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।  

यसैगरी संस्थाले अन्य कुनै वित्तीय संस्थालाई गाभ्ने/गाभिने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल  गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलता,नाफा नोक्सा हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  


Share this with your friends: