नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-05-14
नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गरिएको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

बैंकले गत वैशाख २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।  

यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ। सार्वजनिक निष्कासन गरिने १४ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार इकाइ बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ ऋणपुँजी रकमबराबरको इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 


Share this with your friends: