बिमा कम्पनीहरुको बाउन्सब्याक, दुवै समूहमा उछाल आउँदा नेप्सेमा सुधार

2020-08-17
बिमा कम्पनीहरुको बाउन्सब्याक, दुवै समूहमा उछाल आउँदा नेप्सेमा सुधार

काठमाण्डौ । घट्दो बजारमा बिमा कम्पनीका सेयरहरु चम्किएपछि साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १०.७५ अंकले बढेको छ । 

अघिल्लो दिन बिमा कम्पनीहरुको प्रदर्शन निराशाजनक रहे पनि अवस्थामा यूटर्न भई सोमबार भने जीवन बिमा र निर्जीवन बिमा उपसमूहका कम्पनीहरुको सेयरमा चमक देखियो । 

यो दिन धेरै कमाउने कम्पनीको सूचि तथा धेरै कारोबार गर्ने शीर्ष कम्पनीको सूचिमा समेत बिमा कम्पनीहरुले सम्मानजनक स्थान बनाए । 

यो दिन जीवन बिमा समूहको उपसूचकमा ९७.६ अंक तथा निर्जीवन बिमा समूहमा १५९.२३ अंकको उछाल आयो । 

यसको परिणामस्वरुप धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा ४ स्थानमा बिमा कम्पनीको कब्जा रह्यो । 

बिमा कम्पनीहरुमध्ये सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयरमूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ६६९ रुपैयाँ कायम भयो । 

यस्तै, नेको इन्स्योरेन्सको सेयर मूल्य ४.१३ प्रतिशतले बढेर प्रतिकित्ता ६५६ रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २१ रुपैयाँले बढेर प्रतिकित्ता ६४९ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँ बढेर ४६५ रुपैयाँ कायम भएको छ । 

यो दिन धेरै कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचिमा बिमा कम्पनीहरुले ५ स्थानमा राज गरे । नेपाल पुनर्बिमा कम्पनीले ५ करोड ९३ लाख, नेको इन्स्योरेन्सले ५ करोड २० लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड १ लाख, प्रिमियर इन्स्योरेन्सले ३ करोड १३ लाख तथा यूनाइटेड इन्स्योरेन्सले २ करोड ५० लाख बढीको कारोबार गरे । 

यो दिन जीवन र निर्जीवन बिमा कम्पनी गरी २२ कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्ति बढाएका देखिएको छ । 

अरु के के भयो बजारमा ?
यो दिन बजारमा १ अर्ब ७ करोड माथिको कारोबार भयो । कुल १८४ कम्पनीका ३५ लाख ९१ हजार ४८ कित्ता सेयरको कारोबार भएको यो दिन नेप्से परिसूचक बढेर १४०२.२१ को विन्दूमा फर्कियो । 

यो दिन बैंकिङ समूह ६.५९ अंकले बढ्यो भने व्यापार समुहमा ७.१३ अंक, होटल समूहमा १४.१६ अंक, विकास बैंक समूहमा ९.९४ अंक, बित्त समूहमा ०.१७ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५.८७ अंक, अन्य समुहमा १०.३७ अंक, माइक्रोफाइनान्समा ७.६३ अंकको बढोत्तरी भयो भने जलविद्युत समूह १.४७ अंकले घट्यो । 

यो दिन पनि अघिल्लो दिन झै साधना लघुवित्तको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । सो कम्पनीको मूल्यमा १० प्रतिशत हाराहारीमा बढोत्तरी भयो । 

चिलिमे हाइड्रोको लगानीकर्ताले यो दिन धेरै गुमाए । सो कम्पनीको मूल्य ४.४० प्रतिशतले घट्यो ।


Share this with your friends: