सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-12-22
सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(पुस ७ गते) अन्तिम दिन रहेको छ । बैंकले गत मंसिर २४ गतेदेखि  निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ।  सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ११ लाख ४० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १०.२५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।


Share this with your friends: