इमर्जिङ नेपालको आईपीओ निष्कासन आजदेखि

2022-02-09
इमर्जिङ नेपालको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आज(माघ २६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फन्डका लागि र ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित राखि बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि गत माघ ९ गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृती पाएको थियो । 

कम्पनीको २०७७ पुस २४ गते आयोजना भएको पाचौँ वार्षिक साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । उक्त सभामा  संस्थापक सेयरधनीका लागि चुक्तापुँजीको १ः०।११२ अनुपातमा अर्थात ११।२० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिएको थियो। हकप्रद जारी भएपछि सर्वसाधारणलाई सेयर जारी गरी कम्पनीको चुक्तापुँजी ५५।५६ करोड पुर्याउने र नयाँ कायम चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने विशेष प्रस्ताव पारित भएको थियो । 

आईपिओ निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।

इक्रा नेपाल लिमिटेडले इमर्जिङ नेपाल लिमिटेडलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । 

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्वहरु पूरा गर्न  सक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।


Share this with your friends: