एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-07-12
एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक  क्लोज कहिले ?

   
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी साउन २१ गते बिहिबारका दिन काठमाण्डौ पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो ।   

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन् । 

त्यस्तै बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ०५० रुपैयाँ पुग्ने हुँदा सोहि अनुरुप कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र तथा नियमावलीमा सम्बन्धित निकायबाट कुनै फेरबदल गर्नुपर्ने भएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षण प्रतिवेदन सहित आ.व २०७६/७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७७/७८ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी साउन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बुक  क्लोज हुनुभन्दा एक दिनअघि अर्थात साउन १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभा.स प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: