तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २३.०२ अर्ब, शिखर इन्स्योरेन्स अग्रस्थानमा

2021-04-30
तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २३.०२ अर्ब, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिमा राष्ट्रिय बीमा कम्पनी बाहेकका १९वटा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब २ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्। 

बीमा समितिले उपलब्ध गराएको आकडा अनुसार यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १८ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १९ अर्ब ५१ करोड रुपैयाँ थियो। यसरी कोरोना महामारीकाबीच पनि निर्जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि गर्न सफल भएका छन्। 

समिक्षा अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यो अवधिसम्ममा २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिखर इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन २ अर्ब ६० करोड रुपैयाँमा सीमित थियो। 

यस्तै कुल बीमाशुल्क आर्जन गर्नेको सूचीमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। सगरमाथा इन्स्योरेन्सले समीक्षा अवधिसम्ममा १ अर्ब ९९ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

समीक्षा अवधिसम्ममा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७५ करोड, एनएलजी इन्स्योरेन्स १ अर्ब ६९ करोड, प्रिमियर इन्स्योरेन्स १ अर्ब ३९ करोड, प्रभु इन्स्योरेन्स १ अर्ब १५ करोड, आइएमई जनरल १ अर्ब १४ करोड, प्रडेन्सियल इन्स्योरेन्स १ अर्ब ६ करोड र लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बरारबरको कुल बीमाशुल्क आर्जन गरेका छन्। 

यसैगरी अजोड इन्स्योरेन्सले ९९ करोड, नेपाल इन्स्योरेन्स ९६ करोड, हिमालयन जनरल ९१ करोड, युनाइटेड इन्स्योरेन्स ८३ करोड ओरियन्टल इन्स्योरेन्स ८१ करोड, एभरेष्ट इन्स्योरेन्स ७८ करोड, नेशनल इन्स्योरेन्स ६७ करोड, जनरल इन्स्योरेन्स ५२ करोड र सानिमा जनरल इन्स्योरेन्सले ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।    

 


Share this with your friends: