काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आगामी असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ०९ गते र ढिलोमा असार २० गते बैंकिङ समयपछि हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १५ लाख कित्ता लागि आवेदन दिन सक्नेछन् ।
यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।
बैंकको धितोपत्र बिक्री प्रबन्धकमा सन राइज क्यापिटल लिमिटेड रहेको छ ।