किसान लघुवित्तको सेयर कारोबार फुकुवा

2021-04-01
किसान लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। गलत सूचना दिएको तथा पटक पटक सूचना परिवर्तन गरेको भन्दै गत चैत १० गतेदेखि रोक्का राखिएको संस्थाको कारोबार १८ गतेको निर्णयअनुसार १९ गतेबाट फुकुवा गरिएको हो। 

नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ दिदैँ किसान लघुवित्तले दोस्रो वार्षिक साधारण सभाको प्रस्तावमाथि छलफल गर्दा संस्थाको पूँजी कोष प्रयाप्त नभएकोले त्यसका लागि हकप्रद सेयर जारी गर्ने विषयमा छलफल भएकोमा समितिले साधारण सभामा लिने प्रस्तावहरु मध्ये हकप्रद निष्कासनको प्रस्ताव सम्बन्धित निकायसँग परामर्श गरेर अगाडी बढ्ने निर्णय गरेको र कम्पनी ऐन अनुसार साधारण सभा हुनुभन्दा २१ दिन अगावै सभा सम्बन्धि सूचना प्रकाशित गर्नुपर्ने प्रावधान र सो दिन बिदा परेकाले परामर्श लिन नसकिएको कारण हकप्रद निष्कासन सहितको साधारण सभाको सूचना प्रकाशित भएको जनाएको छ। यस्तै परामर्श पछि सो प्रस्ताव हटाई पुनः चैत ९ गते सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ। 
सूचना दिन ढिलाई सम्बन्धमा नयाँ युजर आइडी लिनुपर्ने भएकाले केहि ढिला हुन गएको र कारोबारमा प्रभाव पार्ने गलत मनसाय नभएको र यो सबै मानविय त्रुटि मात्रै भएको भन्ने जवाफ किसान लघुवित्तबाट आएको नेप्सेले जनाएको छ। 

गल्ती नदोहाराउन र आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त राख्न सचेत गराउँदै संस्थाको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले उल्लेख गरेको छ। 

नेप्सेले हकप्रद जारी गर्ने भन्ने प्रस्ताव राखि पुनः हटाई संसोधन गर्नु र हकप्रद जारी गर्ने भन्ने सञ्चालक समितिको प्रस्ताव समयमानै जानकारी दिन नसक्नुको कारण खुलाउन स्पष्टीकरण सोधेको थियो। 

संस्थाको गत चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा सम्बन्धि विशेष प्रस्तावमा १ः१ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो। संस्थाले हकप्रद जारी गर्ने भन्ने आफ्नो उक्त प्रस्तावलाई चैत ०९ गते पुनः संसोधन गर्दै हटाएको थियो। 

 


Share this with your friends: