कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन

2020-11-04
 कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन

काठमाण्डौ । नियामक निकाय बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन सबै कम्पनीलाई निर्देशन दिएको छ। कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भइरहेको भन्ने व्यापक जनगुनासोलाई सम्बोधन गर्दै बीमा समितिले यस्तो निर्देशन दिएको हो। 

समितिले हिजो कोरोना बीमा दाबी गरेका बीमितहरुको पि.सि.आर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बीमांक रकम भुक्तानी दाबी गरेका सम्पूर्ण बीमितहरुलाई एक हप्ताभित्र भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ। 

मंगलबार कोरोना बीमाको दाबी भुक्तानीको विषयमा अर्थमन्त्रालयमा छलफल समेत भएको थियो। उक्त छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा समितिका अध्यक्षलाई कोरोना बीमाको दाबी भुक्तानी जतिसक्दो चाडो हुने व्यवस्था मिलाउन भनेका थिए। 

अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले बीमा दाबी भुक्तानी सरल र सहज बनाउने कार्य समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।

यस्तै कोरोना बिमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ।  उक्त छलफल कार्यक्रममा अर्थमन्त्रालयका सचिवहरु, बीमा समितिका अध्यक्ष र अर्थ मन्त्रालयका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।   

 


Share this with your friends: