जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिएका ५ लाख बढीको हुने भो खालि हात

2020-09-30
जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिएका ५ लाख बढीको हुने भो खालि हात

काठमाण्डौ । असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आज अन्तिम दिन आवेदन दिनेको ओइरो लागेको छ। 

सिडीएससीका अनुसार आज ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ११ हजार ९ सय आवेदन परेको छ। आवेदकहरुले २ करोड २५ लाख १० हजार ८८० कित्ताका आवेदन दिएका छन्। यो नै अन्तिम नतिजा भने होइन। हिजो कम्पनीले रिलायन्स इन्स्योरेन्सको यसअघिको ६ लाख १४ हजार आवेदनको रेकर्ड तोडेको थियो। 

कम्पनीले २७ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ। १० कित्ताको दरले सेयर बाडँफाडँ गर्दा २ लाख ७५ हजार आवेदकले सेयर पाउनेछन्। यो कम्पनीको आईपीओको अन्तिम डेटा भोलि मात्रै आउनेछ। तर आज साझ ५ बजेसम्मको डेटा हेर्दा ५ लाख ३६ हजारभन्दा बढी आवेदकले सेयर पाउने छैनन।    

यो कम्पनीको आइपीओमा हिजो तेस्रो  दिन १ करोड ९१  लाख ८६ हजार भन्दा बढी कित्ता खरिदका लागि आवेदन परेको थियो । तेस्रो दिन कुल ६ लाख १४ हजार भन्दा बढीको अचाक्ली आवेदन परेको थियो । 

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु। ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ । 

कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।


Share this with your friends: