नेपाल फाइनान्सको स्थगित साधारणसभा असोज १० मा

2020-09-15
नेपाल फाइनान्सको स्थगित साधारणसभा असोज १० मा

काठमाण्डौ ।  नेपाल फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारणसभा आउँदो असोज १० गते हुने भएको छ।  यसअघि कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाका कारण कम्पनीको हुने भनिएको ८ वर्षको साधारणसभा स्थगित भएको थियो।  

कम्पनीले गत भदौ ११ गते २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको थियो।  तर कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासनले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि सरकारले सार्वजनिक रुपमा सभा, सम्मेलन तथा अन्य औपचारिक कार्यक्रमहरु गर्न बन्देज लगाएकाले कम्पनीले भदौ ११ गतेबाट गर्ने भनेको कम्पनीको ८ वटा वार्षिक साधारणसभा स्थगित गरेको थियो।  

अब हुने वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको १७५ प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार दिने मुख्य प्रस्तावलगायतका विभिन्न अजेन्डाहरु पारित गर्ने सभाको उद्देश्य रहेको छ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्। 


Share this with your friends: