शिखर इन्स्योरेन्सको व्यवसायमा कोरोना महामारीको प्रत्यक्ष प्रभाव, बीमाशुल्क आर्जन र लगानीबाट हुने आय घट्यो

2020-11-18
शिखर इन्स्योरेन्सको व्यवसायमा कोरोना महामारीको प्रत्यक्ष प्रभाव, बीमाशुल्क आर्जन र लगानीबाट हुने आय घट्यो

काठमाण्डौ । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण समग्र अर्थतन्त्रमा परेको प्रभाव सँगै शिखर इन्स्योरेन्सको व्यवसायमा प्रत्यक्ष असर परेको छ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ४३ करोड ४० लाख ३८ हजार ३९ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ५.३० प्रतिशतले कम हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ४५ करोड ८३ लाख ३५ हजार ४५९ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको लगानी कर्जा तथा अन्यबाट हुने आय घटेको छ। बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने मुद्धती निक्षेपको ब्याजदर घटिरहेकाले यसको प्रत्यक्ष प्रभाव कम्पनीको लगानी कर्जा तथा अन्यबाट हुने आयमा देखिएको हो। लगानी कर्जा तथा अन्यबाट हुने आय बापत कम्पनीले ४ करोड ५५ लाख ३६ हजार ७८ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा १३.६४ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ५ करोड २७ लाख २८ हजार ७५० रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी कमी आएको छ। यो अवधिमा कम्पनीले १४ करोड २२ लाख १२ हजार २६२ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी २९.१७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले २० करोड ७ लाख ९८ हजार ६७५ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी १२ करोड २३ लाख २ हजार ९६९ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.७३ प्रतिशतले बढि हो। 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ०.८९ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ८ करोड ८४ लाख १४ हजार ५५२ रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ११ करोड ८४ लाख ६२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्मा कम्पनीको बीमा कोषको आकार १ अर्ब ५ करोड ७३ लाख १० हजार ६ सय रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ५७ करोड ८५ लाख १ हजार ६५३ रुपैयाँमा सीमित रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ८९ करोड ७४ लाख  ८७  हजार ९४४ रुपैयाँमा पुगेको छ । 

कम्पनीले समीक्षा अवधिसम्म ७६ हजार ९३५ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३५.५ रुपैयाँ, प्रति सेयर नेटवर्थ २६०.५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६.९ रहेको छ।   


Share this with your friends: