अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्कासन आजदेखि

2021-04-19
अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ६ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

यो हकप्रदमा गत चैत ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी बैशाख २६ गते बन्द हुनेछ । लगानीकर्ताले अरुण भ्याली हाइड्रोपावर कम्पनीको थापाथलीस्थित कार्यालय, मुक्तिनाथ क्यापिटल हात्तिसार, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहहरु इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्वा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन् ।   

कम्पनीको २३ औँ वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले फागनु २५ गते अनुमति प्रदान गरेको थियो। कम्पनीले १ः५०(५० प्रतिशत)को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको थियो। 

कम्पनीले सत्प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो। तर विद्युत नियम आयोगले कम्पनीलाई दुई चरणमा हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। अब कम्पनीले ५० प्रतिशत हकप्रद जारी गरेपछि दोस्रो चरणमा फेरी ५० प्रतिशत हकप्रद जारी गर्नेछ। 


Share this with your friends: