एलआईसी भारतको आईपीओ निष्कासनको मिति तय

2021-12-21
एलआईसी भारतको आईपीओ निष्कासनको मिति तय

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया(एलआईसी)को बहुप्रतिक्षित आईपीओको निष्कासन मिति तय गरिएको छ । भारत सरकारको पूर्ण स्वामित्वको एलआईसीको आईपीओ यहि आर्थिक वर्षको अन्तिमसम्म जारी गरिने भएको हो । 

भारत सरकारको लगानी तथा सार्वजनिक सम्पत्ति प्रबद्धन विभाग(डीआईपीएएम)का सचिव तुहिन कान्ता पाण्डेले एलआईसीको आईपीओ यहि आर्थिक वर्षको अन्त्यसम्ममा जारी गर्ने गरी योजना बनिरहेको बताएका हुन् । उनले एक ट्विट गर्दै कम्पनीको आईपीओ निष्कासन गर्ने  योजना जारी रहेको र आईपीओ सम्बन्धि मिडियामा भईरहेका अड्कलबाजी सहि नभएको बताएका छन् । 

यो आईपीओ भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो हुने र यसबाट भारत सरकारले एक लाख करोड भारतीय रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ । भारतको केन्द्रिय बजेट २०२१–२०२२ मा यो मेगा आईपीओका लागि विभिन्न कानुनी तथा कार्यकारी कदम उठाइएको छ । 

एलआईसी भारत एउटा वैधानिक निगम हो । जसको स्थापना एलआईसी ऐन १९५६ अन्र्तगत भएको थियो । एलआईसी भारत सरकारको पूर्ण स्वामित्व रहेको भारतीय बीमा क्षेत्रको अग्रेणी बीमा कम्पनी हो । यसको भारतबाहिर बेलायत,फिजी र मौरिसस गरी तीनवटा शाखा रहेका छन् । 

यसको अलावा सिंगापुरमा पूर्ण स्वामित्वको सहायक इकाई र बहराईन, केन्या,श्रीलंका,नेपाल,साउदी अरब र बंगलादेशमा ज्वाइन्ट भेन्चर कम्पनी रहेको छ । भारतमा यसको सहायक कम्पनीका रुपमा एलआईसी पेन्सन फन्ड लिमिटेड र एलआईसी कार्ड सर्भिसेस लिमिटेड रहेका छन् ।    

 


Share this with your friends: