किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् अजेन्डा

2022-05-23
किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् अजेन्डा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ २८ गते शनिबारका दिन कैलाली जिल्लाको धनगढीमा  बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयर वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै बोनस सेयर र थप साधारण सेयर निष्कासन गर्नुपर्ने भएकाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले अन्य कुनै संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने कार्य सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ।व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी जेठ २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: