कोरोनाले भुटानको बीमा उद्योग नराम्ररी प्रभावित, व्यापारमा ३५%को गिरावट

2020-10-05
कोरोनाले भुटानको बीमा उद्योग नराम्ररी प्रभावित, व्यापारमा ३५%को  गिरावट

काठमाण्डौ । कोरोना महामारीका कारण आर्थिक गतिविधि र जनजीवन प्रभावित बनेकाले  भुटानको बीमा उद्योगले विभिन्न चुनौतीको सामना गरिरहनु परेको छ।

भुटानको अर्थतन्त्र मुख्य गरी कृषिमा आधारित छ। जनजीविकाका लागि यहाँका करिब ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा निर्भर छन्। पछिल्ला केही वर्षहरुमा भुटानको भौतिक पूर्वाधार र जलविद्युत आयोजनाहरुमा ठूलो मात्रामा लगानी खन्याइएको छ। जसका कारण गैरकृषि क्षेत्रमा समेत हजाराँै संख्यामा रोजगारीको सिर्जना भएको छ। यसले गर्दा त्यहाँको बीमा उद्योग पनि लाभान्वित बनेको छ। 

देशको भौतिक निर्माण र पूर्वाधार विकासका लागि भुटान मुख्य गरेर भारतबाट हुने श्रम आपूर्तिमा निर्भर रहँदै आइरहेको छ। तर कोरोना महामारीका कारण दुवै देशबीचको सीमा बन्द रहेकाले भारतका श्रमिकलाई भुटान प्रवेशमा बाधा उत्पन्न भइरहेको छ। 

भुटानमा राज्यद्वारा सञ्चालित दुईवटा बीमा कम्पनी रोयल इन्स्योरेन्स कर्पाेरेशन र भुटान इन्स्योरेन्स रहेका छन्। यी दुवै कम्पनीको संयुक्त कुल लिखित बीमा शुल्क करिब १८ मिलियन डलरको हाराहारीमा रहेको छ। कोरोना महामारीका कारण भुटानका बीमा कम्पनीहरु नराम्ररी प्रभावित बनेका छन्। महामारीका कारण भुटानका बीमा कम्पनीहरुको व्यापार ३५ प्रतिशतले घटेको त्यहाँको बीमा उद्योगसँग सम्बन्धित स्रोतहरुले जनाएका छन्। 

भुटानको फाइनान्सियल इन्स्टिच्युसन ट्रेनिङ इन्स्टिच्युटका असोसियट प्रोफेसर येस्ले ल्यामोले अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहेको, अन्तर्राष्ट्रिय पर्यटकहरुलाई लगाइएको प्रतिबन्ध, घट्दो व्यापार र विदेशी श्रमिकलाई देशमा प्रवेश गर्न लगाइएको रोकका कारण भुटानको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको बताएकी छन्। उनी भन्छिन्, “यो विषम परिस्थितिमा नयाँ बीमा व्यवसाय सिर्जना गर्न कठिन भएको छ र बीमा कम्पनीहरु आफ्नो बटम लाइनहरुमा यसको प्रभाव कम गर्नका लागि बीमा शुल्क नवीकरणमा डिस्काउन्ट दिइरहेका छन्।”

भुटानमा बीमा सचेतनाको कमी रहेको छ र त्यहाँ बीमालाई आवश्यकताभन्दा पनि विकल्पका रुपमा हेर्ने गरिन्छ। भुटानको आम जनसंख्यामा वित्तीय साक्षरताको कमी रहेको छ। 

यी चुनौतीहरुका बाबजुत पनि पछिल्ला केही वर्षहरुमा भुटानको बीमा उद्योगमा २० प्रतिशतको औसत वृद्धि देखिएको छ। यद्यपि यो वर्ष भने कोरोना महामारीका कारण यहाँको बीमा उद्योग प्रभावित बन्न पुगको छ। भुटानको बीमा उद्योगका विज्ञहरुले देशको बीमा उद्योग पुनरुत्थान हुन लामो समय लाग्न सक्ने बताएका छन्। 

“अहिलेको कोरोना महामारीको अवस्थामा भुटानको बीमा उद्योगको भविष्य निकै कठिन देखिएको छ। समय व्यतित हुँदै जाँदा नवीकरण गर्न मिल्ने व्यापारको गति दिनानुदिन घट्दै गइरहेको छ”, ल्यामोले भनिन्। 

कोभिड १९ प्रोटोकलका कारण कम मानिसहरुमात्रै आफ्नो बीमा आवश्यकता र सेवाहरुका लागि बीमा कार्यालय धाइरहेका छन्। भुटान सरकारले सामाजिक दूरीको नियम र देशभित्र विदेशी नागरिकको प्रवेशलाई कडाइका साथ लागू गरिरहेको छ। भुटान प्रवेश गर्ने विदेशी नागरिकले २१ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ। यद्यपि ल्यामोले कोरोनाको अवस्था सुधार हँुदै जाने र देशको बीमा उद्योगले आम्दानीमा आएको घाटालाई विस्तारै कम गर्दै जाने विश्वास लिएकी छन्। 

भुटानमा हालसम्म २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजमात्रै भुटानमा थप १५ नयाँ केस देखिएका छन्। हालसम्म कोरोनाका कारण कसैको पनि मृत्यु नभएको भुटानमा सक्रिय संक्रमित ६१ जना रहेका छन्। त्यहाँ २३७ जना संक्रमणमुक्त भइसकेका छन्। – एजेन्सी

 


Share this with your friends: