कोरोना महामारीका बाबजुत एलआईसी भारतले बनायो यस्तो रेकर्ड

2021-04-22
कोरोना महामारीका बाबजुत एलआईसी भारतले बनायो यस्तो रेकर्ड

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया’(एलआईसी)ले अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ व्यवसायिक प्रिमियम आर्जन गरेको छ। कम्पनीले २०२१ मार्च ३१ मा सकिएको गत आर्थिक वर्षमा रेकर्डतोड १.८४ ट्रिलियन भारतीय रुपैयाँ(२४.४ बिलियन अमेरिकी डलर) आर्जन गरेको हो। 

जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले नयाँ व्यवसायिक प्रिमियममार्फत १.७७ ट्रिलियन भारतीय रुपैयाँ आर्जन गरेको थियो। 

यति मात्रै नभई कम्पनीले अहिलेसम्मकै सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५६४.०६ मिलियन भारतीय रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.११ प्रतिशतले धेरै हो। कम्पनीले कुल नयाँ व्यवसायिक प्रिमियम मध्ये १.२७ ट्रिलियन भारतीय रुपैयाँ सामूहिक जीवन बीमा र पेन्सन योजनामार्फत आर्जन गरेको जनाएको छ। 

भारतीय बीमा उद्योगको कुल नयाँ प्रिमियम मध्ये एलआईसी बजार हिस्सा ६६.२ प्रतिशत हुन आउँछ। गत आर्थिक वर्ष भारतीय समग्र बीमा उद्योगको नयाँ प्रिमियम संकलन २.७८ ट्रिलियन भारतीय रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.५ प्रतिशतले बढी हो। 

यस अवधिमा निजी स्वामित्वमा रहेका जीवन बीमा कम्पनीहरुले ९४१ बिलियन भारतीय रुपैयाँ नयाँ प्रिमियम आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा १६.३ प्रतिशतले बढी हो। 
एलआईसीमा भारत सरकारको सतप्रतिशत स्वामित्व रहेको छ। कम्पनीले यतिबेला आईपीओ निष्कासनको तयारीमा रहेको छ। यसअघि फेब्रुअरीमा भारतकी अर्थमन्त्री निर्मला सीतारमनले वजेट भाषणका क्रममा एलआईसीले सन् २०२२ मार्च ३१ मा अन्त्य हुने चालु आर्थिक वर्षमा आईपीओ निष्कासन गरिने घोषणा गरेकी थिईन्। जुन आईपीओ भारतीय सेयर बजारको इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ। 

 


Share this with your friends: