ग्लोबल आइएमई बैंकले गुल्मीका कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

2021-09-28
ग्लोबल आइएमई बैंकले गुल्मीका कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मीका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । बैंकले जिल्लाका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

सम्झौतामा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी र धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा हेफर नेपालको बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाउँपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपालअन्तर्गतको बाख्रापालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम् दश लाख रुपैया मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने परियोजनाअन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ। 


Share this with your friends: