ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

2021-03-29
ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २५७ पुगेको छ। 

यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरे। शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ। 

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आइएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गर्ने गरेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: