दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनमा वृद्धि, नेपाल लाइफ सबैभन्दा अब्बल

2021-01-25
दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनमा वृद्धि, नेपाल लाइफ सबैभन्दा अब्बल

काठमाण्डौ । कोरोना महामारीको प्रभावका बाबजुत जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा व्यवसाय वृद्धि भएको छ । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन र प्रथम बीमाशुल्क आर्जन दुवै वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको पुस मसान्तसम्मको तथ्यांक अनुसार चालु आ.वको पहिलो ६ महिनामा  जीवन बीमा कम्पनीहरुले रु.६२ अर्ब ८५ करोड बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आ.वको सोहि अवधिको तुलनामा ३२.१२ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले गत आर्थिक वर्षको पहिलो ६ महिनामा रु. ४७ अर्ब ५७ करोड बीमाशुल्क आर्जन गरेका थिए । 

जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमध्ये रु.२१ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमाशुल्क रहेको छ । तथ्यांक अनुसार समिक्षा अवधिमा गत वर्षको तुलनामा प्रथम बीमाशुल्क आर्जन ३७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आ.व को सोहि अवधिमा प्रथम बीमाशुल्क आर्जन १५ करोड ३० लाख रुपैयाँ थियो । 

बीमा समितिले उपलब्ध गराएको आकँडा अनुसार कुल बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले यो अवधिमा १७ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो सूचीको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कम्पनीले यो अवधिमा ९ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ८१ करोड, यूनियन लाइफले ३ अर्ब ३० करोड, एशियन लाइफ ३ अर्ब १६ करोड, सूर्या लाइफ २ अर्ब २९ करोड, गुराँस लाइफ २ अर्ब १३ करोड र मेट लाइफ २ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।  

यसैगरी प्राइम लाइफले २ अर्ब २ करोड, सिटिजन लाइफ र ज्योति लाइफले समान १ अर्ब ४४ करोड, रिलायबल लाइफ १ अर्ब ३४ करोड, सन नेपाल लाइफले ९९ करोड, सानिमा लाइफले ९७ करोड, आइएमई लाइफले ८८ करोड प्रभु लाइफ ६३ करोड र महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 
प्रथम बीमाशुल्क आर्जनका आधारमा पनि नेपाल लाइफ नै सबैभन्दा अब्बल देखिएको छ । यो अवधिमा नेपाल लाइफले ४ अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो सूचीको दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ५ करोड र तेस्रो स्थानमा रहेको नेशनल लाइफले १ अर्ब ८५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । यसैगरी एशियन लाइफले १ अर्ब १७ करोड, सूर्या लाइफ १ अर्ब १६ करोड, गुराँस लाइफ १ अर्ब २ करोड, रिलायबल लाइफ ९६ करोड, ज्योति लाइफ ८५ करोड, सिटिजन लाइफ ७३ करोड, प्राइम लाइफ ७१ करोड, आईएमई लाइफ र मेट लाइफ समान ६६ करोड, रिलायबल लाइफ र सानिमा लाइफले समान ६४ करोड, राष्ट्रिय बीमा संस्थानले ४९ करोड, सन नेपाल लाइफले ४७ करोड, प्रभु लाइफले ३९ करोड र महालक्ष्मी लाइफले ३४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।  

 


Share this with your friends: