पहिलो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्स अधिकांस सूचकमा अब्बल

2020-11-02
पहिलो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्स अधिकांस सूचकमा अब्बल

काठमाण्डौ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा राम्रो प्रदर्शन गरेको छ। कोरोना महामारीको कहरले समग्र अर्थतन्त्र प्रभावित बनेका बेला पनि कम्पनीको प्रदर्शन अब्बल देखिएको हो। 
पहिलो त्रैमासकोको वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार ९२४ रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९८.७९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन २६ करोड ४२ लाख ६४ हजार ५१६ रुपैयाँ थियो। 
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३ करोड ८३ लाख ६९ हजार ६५० रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा ७४.६ प्रतिशले बढी हो। अघिल्लो वर्षको सोहि अवधिमा यो रकम २ करोड १९ लाख ६८ हजार ७१९ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४२ लाख ८६ हजार ७८९ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोहि अवधिमा यो रकम ४ लाख ६० हजार २०९ रुपैयाँ थियो। 
पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी ७ करोड २२ लाख २२ हजार १३३ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ९१.८६ प्रतिशतले बढी हो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च घटेको छ। यो अवधिमा कम्पनीको व्यवस्थापन खर्च घटेर ५ करोड ८१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीको व्यवस्थापन खर्च ६ करोड १७ लाख रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले बीमा कोषको आकार बढाएर २ अर्ब २५ करोड ९७ लाख १६ हजार १८९ रुपैयाँ पुर्याएको छ। यो आकार गत वर्षको ९१ करोड ४६ लाख ५६ हजार ७७३ रुपैयाँको तुलनामा २३७.०५ प्रतिशतले बढी हो। कम्पनीले जगेडा कोष तथा कोषको आकार ८५.६७ प्रतिशतले बढाएर ४६ करोड ५ लाख ३४ हजार २०३ रुपैयाँको पुर्याएको छ। 
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३० हजार ९१४ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिमा ६६ हजार ११३ वटा बीमालेख जारी गरेको छ। 

यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३३.२३ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य २९०.२६ रुपैयाँ रहेको छ। 

 


Share this with your friends: