बंगलादेशको बीमा क्षेत्रमा अक्टोबर १ देखि डिजिटल ई–भुक्तानी प्रणाली कार्यान्वयमा आउने

2021-04-30
बंगलादेशको बीमा क्षेत्रमा अक्टोबर १ देखि डिजिटल ई–भुक्तानी प्रणाली कार्यान्वयमा आउने

काठमाण्डौ । बंगलादेशको बीमा क्षेत्रमा डिजिटल ई–भुक्तानी प्रणालीको सुरुवात गरिएको छ । बंगलादेशको नियामक निकाय‘द इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी अफ बंगलादेश(आईडीआरए)ले देशको बीमा क्षेत्रमा डिजिटल ई–भुक्तानी प्रणालीको सुरुवात गरेको हो । यससँगै आईडीआरएले बीमितहरुबाट बीमाशुल्क संकलन गर्न बीमा कम्पनीहरुद्वारा जारी गरिने हस्तलिखित वा प्रिन्टेड कागजी बिल र भुक्तानीलाई प्रतिबन्ध लगाएको छ । 

यस मामिलामा आईडीआरएले सर्कुलर जारी गर्दै यो नयाँ प्रणालीको कार्यान्वयन आगामी अक्टोबर १ देखि हुने जनाएको छ । यद्यपी जुन १ देखि सेप्टेम्बर ३० सम्म ई–भुक्तानी र हार्ड कपी सिस्टम दुवै सञ्चालन गर्न सकिने आईडीआरएले जनाएको छ । 

अक्टोबर १ देखि लागू गर्न लागिएको ई–भुक्तानीलाई युनिफाइड म्यासेजिङ प्लेटफर्म(युएमपी)ले जेनेरेट गर्ने छ । जसलाई आईडीआरएले सन् २०१९ मा लञ्च गरेको थियो । 

यद्यपि जीवन बीमा कम्पनीहरूले अर्काे सूचना जारी नभएसम्मका लागि औपचारिक बैंकिङ च्यानलहरू र मोबाइल फाइनान्सियल सर्भिसेस(एमएफएस) मार्फत प्राप्त प्रीमियम भुक्तानीहरूको लागि रसिद जारी गर्न सक्दछन्।

इ–भुक्तानीले कर चोरी र जालसाजीलाई कम गर्न मद्दत पुर्‍याउने र बीमा क्षेत्रमा सबै सरोकारवालाहरूको विश्वास पुनर्स्थापित गर्ने आईडीआरएका एक वरिष्ठ अधिकारीले फाइनान्सियल एक्सप्रेसलाई बताए ।  


Share this with your friends: