काठमाण्डौ । भारतीय बीमा उद्योगले कोभिड१९ को परिणामस्वरुप दाबी भुक्तानीको मामिलामा कठिनाईको सामना गरिरहनु परेको छ। पुनर्बीमकहरुले प्रिमियम शुल्कमा वृद्धि गरेपछि यसले भारतीय ग्राहकहरुमाथि प्रत्यक्ष दबाव सिर्जना गरेको छ। पोलिसी एक्स डटकमका अनुसार वर्ष २०२१ को चौथो त्रैमास अर्थात अक्टोबर–डिसेम्बरमा टर्म इन्स्योरेन्स प्राइस इन्डेक्स भ्यालुमा ४.१८ प्रतिशतको बढोत्तरी आएको छ। यो अवधिमा सूचकांक मूल्य २३ हजार ९२९ भारतीय रुपैयाँ पुगेको छ। पोलिसी एक्स डटकमको रिपोर्टमा सन् २०२१ को पहिलो त्रैमास र चौथो त्रैमासबीचमा टर्म इन्डेक्स भ्यालुमा ९.७५ प्रतिशतको भारी अन्तर देखिएको छ।
२०२१ को चौथो त्रैमासमा १ करोड रुपैयाँको बीमा राशिको औसत वार्षिक प्रिमियम ३० हजार ७२० भारतीय रुपैयाँ पुगेको छ। जुन तेस्रो त्रैमास अर्थात जुलाई–सेप्टेम्बर मा २९ हजार ४४३ भारतीय रुपैयाँ थियो। पोलिसी एक्स डटकमका अनुसार ५ वटा जीवन बीमा कम्पनीहरुमध्ये ३ वटा कम्पनीहरुले आफ्नो प्रिमियमको मूल्य बढाएका छन्। जसमध्ये सबैभन्दा धेरै वृद्धि १३.४ प्रतिशत रहेको छ। त्यसपश्चात क्रमशः४.९ र ०.९ प्रतिशत छ। बाँकी २ कम्पनीले आफ्नो प्रिमियम स्थिर राखेका छन्।
त्यस्तै सन् २०२० देखि २०२२ जनवरीसम्म भारतका बीमा कम्पनीहरुले टर्म इन्स्योरेन्सको प्रिमियम ४० प्रतिशतसम्म बढाएका छन्। यस अवधिमा भारतका सबैजसो निजी बीमा कम्पनीहरुले प्रिमियम वृद्धि गरेका छन्। आईसीआईसीआई प्रुडेन्सियलले टर्म इन्स्योरेन्सको प्रिमियम ३८ प्रतिशतसम्म वृद्धि गरेको छ। त्यस्तै एचडीएफसी लाइफले ३० प्रतिशत प्रिमियम वृद्धि गरेको छ। एलआईसी भारत मात्रै एउटा यस्तो कम्पनी हो जसले टर्म इन्स्योरेन्स प्रिमियममा कुनै पनि वृद्धि गरेको छैन। एलआईसीले पछिल्ला तीन यता टर्म इन्स्योरेन्सको प्रिमियम शुल्कमा कुनै वृद्धि गरेको छैन।