भियतनामको बीमा उद्योगको ५ वर्षको वार्षिक वृद्धिदर २२%

2021-01-11
भियतनामको बीमा उद्योगको ५ वर्षको वार्षिक वृद्धिदर २२%

काठमाण्डौ । सन् २०१६ देखि २०२० सम्म भियतनामको बीमा उद्योगको वार्षिक वृद्धि दर २२ प्रतिशत रहेको छ। यसमध्ये निर्जीवन बीमा बजारको वृद्धि दर १३ प्रतिशत र जीवन बीमाको २८ प्रतिशत रहेको छ। भियतनामको इन्स्योरेन्स असोसियसनले हालै प्रकाशित गरेको बीमा उद्योगकोे ५ वर्षे प्रगति विवरणमा यस्तो देखिएको हो। 

असोसियसनका अनुसार सन् २०१५ मा भियनामको बीमा उद्योगको प्रिमियम बापतको आर्जन ७०,७५२ बिलियन भियतनामी डलर पुगेको थियो। जसमध्ये निर्जीवन बीमा बजारको हिस्सा ३२,१४२ बिलियन भियतनामी डलर र जीवन बीमाको ३८,११० भियतनामी डलर रहेको थियो। यस्तै सन् २०२० को पहिलो ११ महिनामा समग्र बीमा उद्योगको प्रिमियम बापतको आर्जन १६५,७८१ बिलियन भियतनामी डलर रहेको छ। यसमा निर्जीवन बीमाको हिस्सा ५४,१५४ बिलियन भियतनामी डलर र जीवन बीमाको १११,६२७ बिलियन भियतनामी डलर रहेको छ। 

सन् २०१५ को डिसेम्बर ३१ सम्म भियतनामको बीमा उद्योगको कुल सम्पत्ति २०२,५५८ बिलियन भियतनामी डलर थियो भने सन् २०२० को नोभेम्बर ३० सम्म यो बढेर ५४२,७५७ बिलियन भियतनामी डलर पुगेको छ। 

अहिले भियतनाममा ६९ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेको छन्। जसमध्ये ३१ वटा निर्जीवन बीमा कम्पनी, एउटा वैदेशिक शाखा, १८ वटा जीवन बीमा, दुईवटा पुनर्बीमा र १७ वटा इन्स्योरेन्स ब्रोकरहरु रहेका छन्। सन् २०१५ को तुलनामा अहिले यहाँ २ वटा नयाँ निर्जीवन, एउटा जीवन बीमा र चार वटा नयाँ इन्स्योरेन्स ब्रोकरहरु थपिएका छन्। 

 


Share this with your friends: