मलेसियाको मेडिकल बीमा प्रिमियममा उच्च वृद्धि, बीमा योजनाहरु सर्वसाधारणको पहुँचबाट टाढा हुँदै

2020-09-30
मलेसियाको मेडिकल बीमा प्रिमियममा उच्च वृद्धि, बीमा योजनाहरु सर्वसाधारणको पहुँचबाट टाढा हुँदै

काठमाण्डौ । मलेसियामा केहि वर्ष यता मेडिकल बीमा प्रिमियम अस्थिर रुपमा वृद्धि भएको छ। यो ट्रेण्डले मेडिकल इन्स्योरेन्स योजनामा त्यहाँका मध्यम आय भएका वर्ग र अन्य मानिसहरुको पहुँच नपुग्ने सम्भावना बढाईदिएको छ। लाइफ इन्स्योरेन्स असोसिएसनका सिईओ मार्क ओ डेलका अनुसार पछिल्ला वर्षहरुमा मलेसियाको मेडिकल इन्स्योरेन्स प्रिमियम अस्वभाविक रुपमा वृद्धि भएका कारण यस्तो अवस्थाको सिर्जना भएको हो।

डेलले पछिल्ला वर्षहरुमा मलेसियामा मेडिकल इन्स्योरेन्स प्रिमियम ६ देखि ८ प्रतिशतको दरले वृद्धि भईरेहेका बताए।

उनी भन्छन् “हामी मेडिकल इन्स्योरेन्स प्रिमियम बढाउन सहयोग पुर्याइरहेका तत्वहरुबाट सजग हुनुपर्छ र यसको रोकथामका लागि उपयुक्त कदम चाल्ने प्रयास गुर्नुपर्छ।”

मलेसियामा मेडिकल इन्स्योरेन्स प्रिमियम वृद्धि हुनुको एउटा कारण त्यहाँ रहेको उच्च मेडिकल शुल्क हो। विल्स् टावर वाट्सनको “ग्लोबल मेडिकल ट्रेण्ड सर्भे रिपोर्ट २०१९” का अनुसार एसियाका उच्च मेडिकल शुल्क भएका १३ देशहरु मध्य मलेसिया दोस्रो स्थानमा रहेको थियो।

नयाँ मेडिकल प्रविधि र उपकरणहरुको उपलब्धता र पहुँचका कारण गत वर्ष मलेसियामा मेडिकल शुल्क १३.१ प्रतिशतले वृद्धि भएको थियो।

एसियामा सबैभन्दा धेरै मेडिकल शुल्क वृद्धि भएका देशहरु भियतनाम, मलेसिया, फिलिपीन्स, इन्डोनेसिया र चीन रहेका छन्। यि देशहरुमा क्रमश १६.३, १३.१, ११.५, १०.८ र १०.७ प्रतिशतका दरले मेडिकल शुल्क वृद्धि भएको छ।

तर मार्क यि कारणले मात्रै मलेसियाको मेडिकल इन्स्योरेन्स प्रिमियम बढी नदेखिएका बताउछन्। “यो एउटा बृहत मुद्धा हो। यसको सम्बन्ध मेडिकल इन्स्योरेन्स योजनाहरु र सम्बन्धित अस्पतालहरुको शुल्कमा भर पर्ने गर्दछ। मेडिकल इन्स्योरेन्स वृद्धि हुनुमा अन्य धेरै कारणहरु छन्। हामीहरु यि कारण र तत्वहरुलाई पहिचान गरी यसको सम्बोधनका लागि अन्य सरोकारवालाहरुसँग मिलेर केहि कदमहरु चाल्न चाहन्छौ।” मार्क भन्छन्।


Share this with your friends: