मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

2021-07-27
मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी साउन २७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो । 

संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जारी पूँजीको ०.५ प्रतिशत अर्थात कुल निष्कासनमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौमा ९ गते बैंकिङ समयपछि हुनेछ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

आईपीओ निष्कासनका लागि संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत असार ३१ गते अनुमति प्राप्त गरेको थियो ।   


Share this with your friends: