श्वेत–गंगा हाइड्रोपावरद्वारा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

2021-08-18
श्वेत–गंगा हाइड्रोपावरद्वारा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ। श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि सानिमा क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यस सम्बन्धमा श्वेत–गंगा हाइड्रोपावर र सानिमा क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र श्वेत–गंगा हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक डा सुवर्णदास श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीका लागि आईपीओ निष्कासन गर्नेछ। 

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाको सीमा भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८।१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजनामा लगानी गर्न आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओ कम्पनीको जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतबराबर हुन आउँछ। 

यस आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यु खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ। कम्पनीद्वारा निर्माणाधीन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ।


Share this with your friends: