सनराइज बैंकको अगुवाइमा ३ बैंकले लाङटाङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने

2021-09-30
सनराइज बैंकको अगुवाइमा ३ बैंकले लाङटाङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाण्डौ । रसुवाको स्याफ्रुबेसी रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ। 

उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ। गत सोमबार प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। यस कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका अध्यक्षसमेत छन्। 

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। कम्पनीले यो आयोजनाको निर्माणकार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। आयोजनाको निमार्ण पूरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमा लगेर जोडिनेछ। 

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ। 

पहिले यो आयोजना ईपीसीएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो। तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकनपश्चात् हाल बीओक्यू (बिल अफ क्वान्टिटी) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ।


Share this with your friends: