काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख ९० हजार कित्ता बढी सेयर आजदेखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६६० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ७५१ रुपैयाँ तोकिएकाले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ र अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन।
लगानीकर्ताले असार २७ गतेसम्म बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाटमा आईपुग्ने गरी बोलपत्र पेश गर्नु पर्नेछ। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई लिलामीको सूचना प्रकाशित गरी ३५ दिनको समय दिइएकाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको संस्थाले जनाएको छ।